दफा १३ग
वेबमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली लागू गर्नेः
(१) कानून बमोजिम दर्ता भएको ढुवानीको साधनबाट एक स्थानबाट अर्को स्थानमा व्यवसायिक प्रयोजनका लागि जिल्लाबाट अर्को जिल्लामा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमका ढुवानीको साधन प्रयोगकर्ताले मालसामान घोषणाको मुद्रण प्रति र विभागबाट तोकिएका कागजात ढुवानी अवधिभर आफ्नो साथमा राख्नु पर्नेछ।

(३) नेपालभित्र दर्ता भएको वा दर्ता हुने ढुवानीको साधन धनीले विभागले तोकेको मापदण्ड अनुसारको भू- अवस्थिति देखाउने चालु हालतको यन्त्र (जिपिएस डिभाइस) को सिलसिलेवार नम्बर विभागमा दर्ता गरी अनिवार्य रूपमा आफ्नो ढुवानीको साधनमा जडान गरी राख्नु पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै किसिमको ढुवानीको साधन वा कुनै स्थानमा चल्ने साधनमा जिपिएस डिभाइस अनिवार्य रूपमा जडान गर्नु नपर्ने गरी विभागले तोक्न सक्नेछ।

(४) उपदफा (१), (२) वा (३) मा उल्लिखित व्यवस्थाको विपरीत कार्य गर्ने सम्बन्धित ढुवानीका साधनको धनी वा त्यसको प्रयोगकर्तालाई महानिर्देशकले प्रथम पटकको लागि पचास हजार रुपैयाँसम्म र त्यसपछि पटकैपिच्छे एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

( ५ ) यस दफा बमोजिमको व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि लागू हुनेछ